rccorg.org

आगजनी भएका सरकारी कार्यालय सञ्चालन गर्न रुपन्देही व्यापार संघको सहयोग

By Rupandehi Chamber of Commerce September 21, 2025 46 views 0

रुपन्देही व्यापार संघले भदौं २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा आगजनी भएका दुई सरकारी कार्यालयलाई दैनिक काम सञ्चालनका लागि आवश्यक विद्युतिय सामानहरु निशुल्क प्रदान गरेको छ ।
संघको कार्यालयमा आइतवार आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा इलाका प्रशासन कार्यालय, बुटवल र सरकारी वकिलको कार्यालय, बुटवललाई करिव २ लाख मुल्य बराबरका २ थान कम्पयूटर, प्रिन्टर तथा स्क्यानरहरु प्रदान गरिएको कार्यलय प्रमुख सरोज पाखेरेलले बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्याल र सरकारी वकिल कार्यालय, बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुलीलाई ति सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै इलाका प्रशासन कार्यालय, बुटवलका प्रमुख रामचन्द्र अर्यालले आगजनीबाट ध्वस्त कार्यालयबाट सेवा प्रदान गर्न गरिएको सहयोगप्रति आभार प्रकट गर्दै जनतालाई दिने सेवा जति सक्दो चाडो प्रदान गर्न आफुहरु लागि परेको बताउनु भयो ।
उहाले कार्यालयमा गरिएको आगजनी र त्यसबाट भएको क्षतिको अवस्थाले करिव ३ महिनासम्म पनि सहजै सेवा दिन सक्ने अवस्था छैन तर सबैको सहयोगबाट जनताको सेवा सुचारु गर्ने योजना बनाएको जानकारी गराउनु भएको थियो । उहाले वर्तमान असहज अवस्थामा व्यवसायीक संघसंस्थाहरुले पनि आफ्ना सदस्य व्यवसायीहरुलाई इमानदारिताका लागि सेवा प्रदान गर्न आग्रह गर्नु भएको थियो ।
रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले मुलुकले अकल्पनिय क्षति व्यहोरोको वर्तमान अवस्थामा सबैले सहयोगिको भावना राखेर काम गर्नु पर्ने बताउनु हुदै जेनजीका नाममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको परिपूर्ति हुन धेरै समय लाग्ने धारणा राख्नु भयो ।
सरकारी वकिल कार्यालय, बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुलीले आन्दोलनका नाममा भएको अवाञ्छीत कार्यले राष्ट्रलाई ठूलो नोक्शानी भएको अवस्थामा सहयोगीका हातहरुले कार्यालय चलाउनु परेको सुनाउनु भयो ।
कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्ष्ता तथा महासचिव फर्सुराम पन्थको सञ्चालनमा भएको थियो ।
जेनजीको आन्दोलनका क्रममा रुपन्देहीमा करिव ३ दर्जन सरकारी कार्यालयहरुमा तोडफाड तथा आगजनी भएको छ । आगजनीबाट ति कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द भएका छन् ।

Views: 46 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top