बुटवल, १८ माघ । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा आइतबार संघमा आबद्ध डिलर्स व्यवसायीहरुको भेला सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न उक्त भेलाले मोति काफ्लेको संयोजकत्वमा १० सदस्यीय डिलर्स वस्तुगत उपसमिति गठन गरेको छ । उपसमितिको सह–संयोजकमा रेशम थापा, सचिवमा सुरेश पन्थी, कोषाध्यक्ष शंकर पौडेल, सह–सचिव विराट नेपाल र सदस्यहरुमा पदम श्रेष्ठ, नेत्र न्यौपाने, गोपाल रेग्मी, दिपक अर्याल, ज्ञानेश्वर पाण्डे रहनुभएको छ ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकाले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाँले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगी बन्न आग्रह गर्नु भयो । उहाँले रुपन्देही व्यापार संघ आम व्यापारी व्यावसायीको आशा र भरोसाको केन्द्र समेत भएकोले व्यावसायी समस्याको समाधानमा एकजुट भएर लाग्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा नवनिर्वाचित संयोजक मोति काफ्लेले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु, डिलर्स व्यवसायीहरु एकुजट भई व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सह–कोषाध्यक्ष जिवनारायण घिमिरे (जिवन), कार्यसमिति सदस्य सरोज ज्ञवाली, जिवन काफ्लेलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनु भयो । कार्यक्रम संघका कार्यसमिति सदस्य मुरारीराज भण्डारीको अध्यक्षता र सरोज ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।






