rccorg.org

रुपन्देही व्यापार संघको २७औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो, पूर्व अध्यक्षहरू सम्मानित

By Rupandehi Chamber of Commerce November 17, 2026 2 views 0

बुटवल । रुपन्देही व्यापार संघले आफ्नो २७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै संघका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्र आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउँदै स्थानीय व्यापार व्यवसायको प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा निजी क्षेत्र तथा स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बुटवलको आर्थिक तथा व्यावसायिक विकासमा रुपन्देही व्यापार संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्षले २७वर्षको संस्थागत यात्रामा साथ, सहयोग र योगदान पु¥याउने संस्थापक, पूर्व अध्यक्ष, अग्रज व्यवसायी, सदस्य तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि व्यवसायीहरूको हकहित संरक्षण, व्यापार प्रवद्र्धन र संस्थागत सुदृढीकरणका लागि संघ प्रतिबद्ध भएर अघि बढ्ने बताउनुभयो ।

संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले संघ स्थापनाको प्रारम्भिक अवस्था स्मरण गर्दै संस्थालाई यहाँसम्म ल्याउन अग्रज व्यवसायीहरूले गरेको योगदान महत्वपूर्ण रहेको बताउँदै संस्थाको इतिहास र गौरवलाई कायम राख्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले व्यवसायीहरूको हकहित संरक्षण र संस्थागत एकताका लागि संघले निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष दिपकप्रसाद अधिकारीले आफ्नो कार्यकालका अनुभव र गतिविधि स्मरण गर्दै संघलाई थप सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा संघका सल्लाहकार तेजप्रसाद सुनार, आजीवन परिषद् संयोजक ऋषिबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरूलाई संस्थाको विकास र उन्नतिमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । त्यसैगरी स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदाताहरूले रक्तदान गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेका थिए । यस्तैगरी कार्यक्रममा लक्ष्मी मा.वि. बुटवललाई संघद्वारा आरसीसी लक्ष्मी अक्षयकोष स्थापनाको निम्ति एक लाख एकाउन्न हजार रुपैया मात्र सहयोग गरिएको थियो भने नेपाल पत्रकार महासंघ रुपन्देही सँग क्रियाशिल पत्रकारिता पुरस्कारका लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

२७औँ स्थापना दिवसले संघको गौरवपूर्ण इतिहासको स्मरण गर्दै आगामी दिनमा निजी क्षेत्रको हकहित संरक्षण, व्यावसायिक एकता र आर्थिक समृद्धिका लागि थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको धन्यवाद तथा महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Views: 2 views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top