असार ८, बुटवल । रुपन्देही व्यापार संघ अन्तर्गतको औषधि वस्तुगत उपसमितिको आयोजनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी एकदिवसीय बृहत् सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार संघको सचिवालयमा महिला व्यवसायी तथा स्थानीय महिलाहरूमा बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले व्यापारिक हकहितको संरक्षणसँगै सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि संघ उत्तिकै जिम्मेवार रहेको बताउदै महिलाहरूको स्वास्थ्य नै परिवार र व्यवसायको मेरुदण्ड भएकोले क्यान्सर जस्तो घातक रोगबारे समाजमा लुकेर रहेका भ्रमहरू चिर्न र समयमै स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न यस्ता कार्यक्रमले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. शिला ढकालले पाठेघरको मुख र स्तन क्यान्सरका लक्षण, रोकथामका उपाय तथा प्रारम्भिक पहिचानको महत्त्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा. ढकालले क्यान्सर रोग सुरुवाती अवस्थामै पहिचान हुन सकेमा पूर्ण रूपमा निको हुने तर चेतनाको अभाव र लज्जाबोधका कारण धेरै महिलाहरू अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेका कारण जटिल बन्ने गरेको बताउनुभयो । उहाँले ३० वर्ष नागिसकेका महिलाहरूलाई वर्षमा कम्तीमा एकपटक ’प्याप स्मियर’ वा ’भिआइए’ परीक्षण गराउन सुझाव दिनुभयो ।
यस्तै कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं उपसमिति इन्चार्ज केदारनाथ नेपालले औषधि वस्तुगत उपसमितिको कार्ययोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको बताउँदै नियमित रुपमा सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
संघ अन्तर्गतको औषधि वस्तुगत उपसमितिका संयोजक राजकुमार श्रेष्ठको अध्यक्षता, सह–संयोजक निरु पैनीको स्वागत, सचिव अमृता भण्डारीको संचालनमा भएको कार्यक्रममा प्रमुख सहजीकरण डा.शिला ढकालले गर्नुभएको थियो । कार्यक्रममा सहभागीकोतर्फबाट सरिता नेपाल र सरला नेपालले कार्यक्रमबाट प्राप्त अनुभवका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा संघ अन्तर्गतका १५० भन्दा बढि महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।


















