बुटवल, असार ११ । रुपन्देही व्यापार संघले नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक नविना ढकाल तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान थापालाई स्वागत तथा सम्मान गरेको छ ।
संघले बिहीबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक ढकालले आगामी मौद्रिक नीतिमा नवप्रवर्तन तथा स्टार्टअप व्यवसायलाई विशेष प्राथमिकता दिइने संकेत गरिन् । व्यवसायीले बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा उनीहरूको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले व्यवसायीका समस्या समाधानका लागि राष्ट्र बैंक सधैं तयार रहेको बताउनुभएको थियो । सहुलियतपूर्ण कर्जाको वितरणमा अनियमितता वा व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य भए कारबाही गरिने निर्देशक ढकालले स्पष्ट पार्नुभएको थियो ।
यस्तै प्रहरी उपरीक्षक थापाले ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताए । मुख्य राजमार्गसँगै भित्री सडकहरूमा बढ्दो सवारी चाप र पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउन सवारी चालक, उद्योगी–व्यवसायी, स्थानीय सरकार, ट्राफिक प्रहरी तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायीका लागि सहज वातावरण सिर्जना हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई राहत पुग्ने गरी ब्याजदर निर्धारण तथा आवश्यक सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको थियो । उद्योग, व्यापार, निर्माण, पर्यटन तथा सेवा क्षेत्र अपेक्षाअनुसार चलायमान हुन नसकेको र निजी क्षेत्रको मनोबल कमजोर बन्दै गएको उल्लेख गर्दै उनले आर्थिक पुनरुत्थानलाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।
अध्यक्ष ढकालले बुटवलको मुख्य व्यापारिक क्षेत्र अमरपथ, राममन्दिर लाइन र संगमपथमा पार्किङ व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो साथै उनले त्यसका लागि सहकार्य गर्न ब्यापार संघ तयार रहेको बताउनुभयो । उनले मुख्य राजमार्गमा बिग्रिएका सवारीसाधन, दुर्घटनापछि सडक तथा साइड बारमा हुने क्षतिले थप जोखिम बढाएको उल्लेख गर्दै सवारी चेकजाँच प्रक्रियालाई पनि सहज बनाउन आग्रह गर्नुभएको थियो । भारतबाट नेपाल भित्रिने पर्यटकलाई लक्षित गरी बेलहिया नाका क्षेत्रमा पर्याप्त र व्यवस्थित पार्किङको व्यवस्था गर्नसमेत उहाँले माग गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले आर्थिक वृद्धि, रोजगारी सिर्जना र दिगो विकासका लागि मौद्रिक नीतिमार्फत नवप्रवर्तन र स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । युवाहरूलाई उनीहरूको क्षमता र रुचि अनुसार तालिम तथा सीप प्रदान गरी उद्यमशीलतामा जोड्ने कार्यक्रम ल्याउन राष्ट्र बैंकले पहल गर्नुपर्ने उहाँको धारणा थियो । बजार क्षेत्रमा सवारी साधनको गति नियन्त्रण, जेब्राक्रसमा पैदल यात्रुलाई प्राथमिकता तथा टिप्पर, माइक्रोबस, ई–रिक्सा र स्वरूप परिवर्तन गरिएका मोटरसाइकलमाथि निगरानी बढाई आवश्यक कारबाही गर्नुपर्नेमा उहाँनले जोड दिनुभयो ।
संघका प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।





